News & Events

Image

नमूना सर्वसुलभ उपभोक्ता सहकारी संस्थालाई २५ लाख पुँजीगत अनुदान प्रदान

राष्ट्रिय सहकारी महासंघले भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयले नमुना उपभोक्ता सहकारी संस्थाका लागि दिएको २५ लाख पुँजीगत अनुदान भक्तपुर कमलविनायकमा रहेको सर्वसुलभ उपभोक्ता सहकारी संस्था लि.लाई प्रदान गरेको छ । महासंघले मिति २०७५ पुस २५ गते भएको आफ्नो २६ औं बार्षिक साधारण सभाको अवसरमा सो रकम प्रदान गरेको हो ।

अर्थमन्त्री डा. युवराज खतिवडाले सर्वसुलभ सहकारी संस्थाका अध्यक्ष लक्ष्मी प्रसदा लाखाजु, पूर्व अध्यक्ष तथा सल्लाहकार कृष्ण गोविन्द लाखाजुलाई २५ लाख बराबरको चेक हस्तान्तरण गर्नुभएको थियो । भक्तपुर कमलविनायकमा रहेको सर्वसुलभ उपभोक्ता सहकारी संस्था लि.मिति २०७२ कात्र्तिक २२ भएको हो । संस्थाले शुरु गरेको सुपथ मुल्यको पसल विहान ७ बजेदेखि बेलुका ८ बजेसम्म संचालन भएको छ । यसले नियमित रुपमा गुणस्तरीय र उचित मूल्यमा उपभोक्तालाई आवश्यक सामाग्री विक्रि गरिरहेको संस्थाका अध्यक्ष लाखाजुले बताउनुभयो ।

संस्थामा ५१७ जना सदस्य रहेका छन् भने १० जना कर्मचारी कार्यररत छन् । संस्थाको शेयर पुँजी ८१ लाख ५० हजार रहेको छ भने सो सुपथ पसलका लागि १ करोड ५० लाख लगानी गरिएको छ । ‘महासंघमार्फत राज्यबाट हामीले पाएको पुँजीगत अनुदानले हामीलाई उपभोक्तालाई गुणस्तरीय सामान सेवा प्रदान गर्ने थप प्रेरणा मिलेको छ ।’ अध्यक्ष लाखाजुले भन्नुभयो,‘उपभोक्ता कमसल सामान र ठगीको मारमा परिरहेको समयमा सदस्यहरुबाट नै संचालन हुने यस्ता उपभोक्ता सहकारी संस्थाहरुको ठाउँ ठाउँमा स्थापना गर्न सकिएको खण्डमा उपभोक्ताको हक हितमा काम हुन सक्छ ।’

 संस्थाले उपभोक्तालाई सुर्वसुलभ मुल्यमा गुणस्तरीय सामान मात्र विक्रि वितरण गरेको छैन उनीहरुलाई प्रविधिको प्रयोगमार्फत सहज र सजिलो समेत बनाइदिएको छ । सामान विक्री तथा स्टक समानको विवरण कम्प्युटर सफ्वेयरमा राखिएको छ । त्यसैगरि संस्थाले दुग्ध विकास संस्थानको डिलरशिप लिई दुग्धजन्य पदार्थ रसाल्ट ट्रेडिङ्गको डिलरपि लिई नुन र चिनी खरिद विक्रि समेत गरेको छ । उपभोक्ताको आवश्यकता अनुसारका सामान राख्ने नियमित अन्तक्रिया गर्ने, सुधार गर्ने, सदस्यहरुको सल्लाह सुझाव लिने काममा पनि सहकारी अगाडी छ । सदस्यले बार्षिक रुपमा नाफाको प्रतिशतमात्र पाएका छैनन् नियमित रुपमा कारोबार गर्नेको आधारमा अतिरिक्त १ प्रतिशत नगद समेत पाएको सल्लाहकार कृष्ण गोविन्द लाखाजुले बताउनुभयो । ‘सदस्यहरुलाई कार्ड बनाई बार्षिक कारोबार गरेको आधारमा अतिरिक्त १ प्रतिशत नगद दिदै आएका छौं भने १ हजारभन्दा बढीको सामाना खरिद गर्नेलाई होम डेलिभरीको सुविधा समेत संस्थाले दिएको छ ।’ स्थानीय स्तरमा सदस्यहरुद्वारा उत्पादित बस्तुहरु चिउरा, तेललगायतका खाद्यान्न समेत संस्थाले खरिद गर्ने गरेको छ ।

नेपालमा उपभोक्ता सहकारीको सख्या १ हजार ४ सय २३ रहेको तथ्यांक छ । जुन कुल ३४ हजार ५१२ सहकारीको ४ दशमलब १२ प्रतिशत हो । तर अधिकांश उपभोक्ता सहकारी संस्था सक्रिय रहेको देखिदैन । तर भक्तपुरको सर्वसुलभले भने नमुना काम गरिरहेको छ । सो क्षेत्रमा रहेका अन्य डिपार्टमेन्ट स्टोरहरुसँग प्रतिस्पर्धा गरेर सो संस्थाले उत्कृष्ट कार्य समेत गरेको छ । अन्य सहकारी संघ÷संस्था र सदस्यहरुको उत्पादानलाई समेत बजारीकरण गर्नका सर्वसुलभले भूमिका खेलेको महासंघका कामु महाप्रबन्धक चित्राकुमारी थाम्सुहाङ सुब्बाले बताउनुभयो । महासंघले पुँजीगत अनुदान उपभोक्ता सहकारीहरुसँग प्रस्ताव आव्हान गरेको थियो । ती प्रस्तावमध्ये स्थलगत र संस्थागत अनुगमन गरी उत्कृष्टमध्येको एकलाई छनोट गरेको सुब्बाले बताउनुभयो । ‘सर्वसुलभले सदस्यलाई गुणस्तरीय सेवा सुविधा मात्र दिएको छैन प्रविधिलाई समेत अवलम्बन गरेको छ । यसले नमुना प्रस्तुत गरेको छ,’ उहाँले भन्नुभयो ।

share this post: