News & Events

Image

संघीय सहकारी ऐनसंग तादाम्यता हुने गरी प्रदेश तथा स्थानीय सहकारी ऐनहरु निर्माण गर्न चुनौती

राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मीनराज कडेंलले संघीय सहकारी ऐनसंग तादाम्यता हुने गरी प्रदेश तथा स्थानीय सहकारी ऐनहरु निर्माण गर्न चुनौती रहेको कुरा वताउनु भएको छ । राष्ट्रिय सहकारी महासंघद्वारा चितवनको भरतपुरमा आयोजित माघ १० र ११ गते सम्पन्न सदस्य केन्द्रियता सूचाङ्कका आधारमा संस्थागत विकास मापन प्रणाली कार्यान्वयन कार्यशाला गोष्ठीको समापनका अवसरमा अध्यक्ष कडेंलले सो कुरा वताउनु भएको हो । सहकारी संघ/संस्थाहरुका उत्पादन तथा सेवाहरु सदस्य केन्द्रित गर्नमा प्रोत्साहन गर्न तत्सम्वन्धी विधि र प्रक्रिया वारे ज्ञान तथा शिप प्रदान गर्ने अभिप्रायले सहकारी विभागको सहयोगमा महासंघले उक्त कार्यक्रम पहिलो पटक उपत्यका वाहीर सञ्चालन गरेको हो । सदस्य केन्द्रीयता सूचकाङ्को अवस्था मापन गर्ने र सोको नतिजा व्यवहारमा प्रयोगमा ल्याउन सहकारी संघ संस्थाहरुलाई प्रोत्साहन गर्ने सो कार्यक्रमको प्रमुख उद्धेश्य रहेको थियो ।
उक्त अवसरमा महासंघका नवनिर्वाचित अध्यक्ष मीनराज कंडेललाई जिल्ला सहकारी संघ चितवन र जिल्ला वचत तथा ऋण सहकारीसंघ चितवनले वधाई ज्ञापन गरेका थिए । तत्पश्चात अध्यक्ष कंडेलले आइसीएको परिभाषामा सदस्यको स्वामित्व नै सदस्यता केन्द्रीयता भएको बताउँदै महासंघले लविङ्ग, पैरवी र प्रतिनिधित्वका अतिरिक्त यस प्रकारका क्षमता विकासका कार्यक्रमहरु अघि सार्दै आएको चर्चा गर्नुभयो । उहाँले सहकारी संघ÷संस्थाहरु अरुभन्दा अब्बल हुनुकासाथै आफ्ना सदस्य, समुदाय र समाजको हित र समुन्नतीमा कामगर्नुपर्ने आवश्यक्तामा जोड दिंदै “सदस्य केन्द्रीयता सूचाङ्कका आधारमा संस्थागत विकास मापन प्रणाली कार्यान्वयन गोष्ठी”ले सहकारी संघ÷संस्थाहरुलाई समुदाय केन्द्रित भई काम गर्न वल पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
महासंघका नायवमहाप्रवन्धक बाबुल खनाल र प्रशिक्षक कृष्ण प्रसाद भट्टराईले सहजीकरण गर्नु भएको सो गोष्ठीको समापन समारोहमा जिल्ला सहकारी संघ चितवनका अध्यक्ष टिकाराम भट्टराई, दूग्ध उत्पादक सहकारी संघका अध्यक्ष रत्नमणि न्यौपाने, जिल्ला ताजा तरकारी तथा फलफूल सहकारी संघका अध्यक्ष हरी वहादुर थापा, जिल्ला वचत तथा ऋण सहकारी संघ लि. चितवनका अध्यक्ष हरीश्चरण सुवेदी लगायत विभिन्न विषयगत सहकारी संघका अध्यक्षहरु तथा सहभागीका तर्फवाट सिताराम सिलवाल र भगवती अधिकारीले गोष्ठीले सहकारी संघ/संस्थामा सदस्यलाई केन्द्रित गरी कार्यक्रम सञ्चालन गर्न प्रेरित गरेको भन्दै आ–आफ्ना संघ संस्थाहरुको तत्सम्वन्धी वर्तमान अवस्था थाहा पाएको कमजोरी सुधार गर्न आगामी दिनमा काम गर्ने धारणा व्यक्त गर्नुभएको थियो । सो गोष्ठीमा चितवन जिल्ला सहकारी संघका अतिरिक्त विषयगत सहकारी संघहरु र जडीवुटी, वहुउद्धेस्यीय, वचत तथा ऋण, दूग्ध, तरकारी फलफूल, साना किसान तथा कृषि सहकारी संस्थाहरुका ३६ जना सहभागीहरुको उपस्थिति रहेको थियो । सो गोष्ठीमा सञ्चालकीय सक्रियता, संस्थापकीय सरोकार र संरक्षकीय सम्बन्धन लगायतका विषयवस्तुमा सैद्धान्तिक तथा व्यवहारिक अभ्यास गराई सहभागी संघ संस्थाहरुको सदस्य केन्द्रीयता सूचकाङ्कको वर्तमान अवस्था निकाली प्रस्तुती समेत गराइएको थियो ।

share this post: