News & Events

Image

सम्पत्ति सुद्धिकरण निवारण तथा जोखिम विश्लेषण तालिम सम्पन्न

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, सहकारी विभागको सहयोगमा राष्ट्रिय सहकारी महासंघद्वारा आयोजित सम्पति सुद्धिकरण निवारण तथा जोखिम विश्लेषण तालिम सम्पन्न भएको छ ।
जिल्ला सहकारी संघ लि.भक्तपुरको संयोजनमा यही फाल्गुण ७ र ८ गते सञ्चालित सो तालिमको अन्तिम दिन सूर्यविनायक नगरपालिकाका प्रमुख बासुदेव थापाले सहभागीहरुलाई प्रमाणपत्र वितरण गरेर समापन गर्नु भएको हो । सो तालिममा भक्तपुर जिल्लामा सञ्चालित विभिन्न सहकारी संस्थाहरुमा क्रियाशील सहकारीकर्मीहरुको सहभागीता रहेको थियो ।
महासंघका तालिम अधिकृत अमित अधिकारी, सञ्चार अधिकृत रामसुदन तिमल्सिना, नेपाल राष्ट्र बैंकका उपनिर्देशक स्वरुप श्रेष्ठ, विनय सिग्देल र पूर्व निर्देशक श्यामकृष्ण दाहालले प्रशिक्षण दिनु भएको थियो ।
सो तालिमका सहभागीहरुलाई सक्षिप्त संबोधन गर्दै नगर प्रमुख थापाले भक्तपुरमा कालोधन राख्ने सहकारी संस्था नभएको जिकिर गर्दै सहकारीको नाममा जनताको सम्पत्ति अपचलन गर्नेहरुलाई प्रचलित कानून अनुसार दण्ड जरिवाना गरेरै छाड्ने प्रण गर्नुभयो ।
सहकारी विना सुखी नेपाली, समृद्ध नेपालको लक्ष्य पूरा नहुने बताउँदै उहाँले सूर्यविनायक नगरपालिकाले आर्थिक वर्ष २०७६÷७७ मा सहकारी क्षेत्रको विकासका लागि बजेट विनियोजन गरेको र जिल्ला सहकारी संघ लि. भक्तपुरलाई कार्यक्रम सञ्चालन गर्नका लागि ४ लाख अनुदान दिने घोषणा गर्नुभयो ।
कानूनी राज्य बनाउन पद्धतिमा चल्नुको विकल्प नभएको बताउँदै उहाँले सहकारीमा पनि सम्पत्ति सुद्धिकरण हुनुपर्ने बताउनुभयो ।
सहकारी नभए सबै नेपाली नागरिकको बैंकमा पहुँच नहुने बताउँदै नगरप्रमुख थापाले सहकारीले नै गरीब र सोझा स्थानीय जनताका लागि बित्तीय पहुँच सहज बनाएको उजागर गर्नुभयो ।
सोही अवसरमा सहकारी बाको उपनामले ख्याति कमाउनु भएका अगुवा सहकारीकर्मी कैलाशभक्त प्रधानाङ्गले तालिममा सिकेको कुरा सहभागीहरुले आ–आफ्नो सहकारी संस्थाहरुमा रिपोर्टिङ्ग गर्नुपर्ने बताउँदै अध्ययन तथा अनुसन्धान गर्ने र अभिलेख राख्ने काम गर्नुपर्ने आवश्यकता औल्याउनुभयो ।

share this post: