News & Events

Image

सहकारीमा लेखा सुपरिवेक्षण समितिको प्रभावकारीता वृद्धि गोष्ठी सम्पन्न

राष्ट्रिय सहकारी महासंघको आयोजनामा सहकारीमा लेखा सुपरिवेक्षण समितिको प्रभावकारीता वृद्धि विषयक २ दिने प्रादेशिक गोष्ठी रुपन्देहीको मंगलापुरमा सम्पन्न भएको छ । प्रदेश नं ५ का जिल्ला सहकारी संघहरु, विषयगत सहकारी संघहरु र सहकारी संस्थाहरुका लेखा सुपरिवेक्षण समितिका संयोजक तथा सदस्यहरुको उत्साहपूर्ण सहभागीता भएको सो गोष्ठिको उद्घाटन प्रदेश नं ५ का कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री आरती पौडेलले गर्नु भएको थियो ।
उक्त गोष्ठीमा आन्तरिक नियन्त्रण प्रणालीमा लेखा सुपरिवेक्षण समितिको स्थान, सहकारी सुशासनमा लेखा सुपरिवेक्षण समितिको भूमिका, लेखा सुपरिवेक्षण समितिका चुनौती तथा प्रभावकारीता वृद्धिका उपाय, सहकारीमा आन्तरिक तथा बाह्य लेखा परिक्षण विधि तथा प्रक्रिया र सहकारी संघ÷संस्थाहरुको निरिक्षणमा देखिने त्रुटी तथा कमी कमजोरीहरु विषयक कार्यपत्रहरु प्रस्तुत भएको थियो ।
गोष्ठिमा राष्ट्रिय सहकारी महासंघका लेखा सुपरिवेक्षण समिति संयोजक धर्मदत्त देवकोटा, महासंघका नायव महाप्रवन्धक बाबुल खनाल, सहकारी विज्ञ खगराज शर्मा, चार्टड एकाउन्टेन छविलाल पोखरेल लगायतले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । गोष्ठीमा महासंघका अध्यक्ष मीनराज कडेंलले सम्वोधन गर्दै सहकारी स्वनियमनमा संचालन हुने भएकाले लेखा सुपरिवेक्षण समितिको महत्वपूर्ण भूमिका रहेको औल्याउनुभयो । उहाँले यो समिति सक्रिय भएको खण्डमा सहकारी सुशासनमा संचालन हुने समेत जिकिर गर्नुभएको थियो । लेखा सुपरिवेक्षण समितिको भूमिका महत्वपूर्ण भएकाले यसलाई सक्रिय बनाउने उद्देश्यले महासंघले प्रत्येक बर्ष यो कार्यक्रम गरेको उहाँले बताउनुभयो ।
गोष्ठिमा प्रदेश नं. ५ का रोल्पा, गूल्मी, दाङ्ग, प्यूठान, वाँके, वर्दिया, कपिल्वस्तु, अर्घाखाँची, पाल्पा, रुपन्देही, नवलपरासी जिल्लाका ६० जना भन्दा वढिको सहभागीता रहेको थियो । उक्त गोष्ठिका सहभागीहरुले लेखा सुपरिवेक्षण समितिले सहकारी संघ संस्थाहरुको लेखा निरिक्षण गर्दा अपनाउनुपर्ने सतर्कताहरुका विषयमा जानकारी भएको भन्दै सहभागीले गोष्ठी उपलब्धीमुलक भएको बताउनुभएको थियो । उहाँहरुले जिल्ला तहमा पनि यस किसिमका कार्यक्रमहरु आयोजना गर्दा राम्रो हुने विचार ब्यक्क्त गर्नुभएको थियो ।
गोष्ठिको उद्घाटन समारोहमा प्रमुख अतिथि मन्त्री पौडेलले लेखा सुपरिवेक्षण समितिले आफ्नो भूमिका वढाउन जरुरी रहेको कुरामा जोड दिदै सोका लागि प्रदेश सरकारले सहकारीसंग मिलेर काम गर्ने जानकारी दिनुभयो । मन्त्री पौडेलले संघीयताको मर्म अनुसार प्रतिफल प्राप्तीका लागि आम नागरिकलाई परिचालन गर्न सहकारीको प्रमुख भूमिका रहेको वताउनुभयो । उहाँले उत्पादक र उपभोक्ताहरुविचको दुरी घटाउन चक्लावन्दी खेती र व्यवसायिक कृषि उत्पादनका लागि प्रदेश मन्त्रालय सहकारीसंग सहकार्य गर्न तत्पर रहेको जानकारी दिदै सोका लागि कार्य गर्न सहकारी संघसंस्थाहरुलाई आव्हान गर्नुभयो । उद्घाटन समारोहमा महासंघका अध्यक्ष मिनराज कडेलले सहकारीमा संचालक समिति र लेखा सुपरिवेक्षण समिति दुवै एक अर्कामा परिपुरक भएको बताउदै सहकारीले सदस्यहरुको जिवीकोपार्जन वृद्धिगर्न सरकार सहकारी साझेदारिता वृद्धि गर्नु आवश्यक रहेको वताउनु भयो ।
समुद्घाटन कार्यक्रमको अध्यक्षता गर्नुभएका महासंघका लेखा सुपरिवेक्षण समितिका संयोजक धर्मदत्त देवकोटाले सहकारीमा आन्तरिक नियन्त्रण कायम गर्न लेखा सुपरिवेक्षण समितिलाई सक्रिय वनाउन कार्यक्रमको आयोजना गरिएको जानकारी दिनुभयो । सो अवसरमा महासंघका सञ्चालकद्वय भिम तुलाचन र रामकृष्ण खाँड, लेखा सुपरिवेक्षण समितिका सदस्यद्वय सोम वहादुर श्रेष्ठ, वाल कुमारी श्रेष्ठले आफ्नो विचार व्यक्त गर्नुभएको थियो । उक्त गोष्ठीका दौरानमा सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक कपीलमणि ज्ञवालीले कोषको जानकारी दिदै कोषमा सहकारी संघ संस्थाहरुको आवद्धता सम्वन्धी परिचयात्मक प्रस्तुती गर्नुभएको थियो । २०७६ फागुन १६ देखि १७ गतेसम्म संचालित उक्त गोष्ठिको संचालन महासंघका नायव महाप्रवन्धक वावुल खनालले गर्नुृभएको थियो ।

share this post: