News & Events

Image

गरीवी निवारणका लागि प्रत्येक घरमा सहकारीका सदस्य

राष्ट्रिय सहकारी महासंघले आइतबार भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका सचिव टेकनारायण पाण्डे तथा सह सचिव ख्यामबहादुर थापालाई स्वागत गरेको छ ।

सो कार्यक्रमलाई सम्बोधन गर्दै सचिव पाण्डेले मन्त्रालयले सहकारी अभियानसँग सहकार्य गरेर अगाडि बढ्ने बताउनुभयो । उहाँले सहकारीलाई उत्पादनमुलुक र व्यवसायी क्षेत्रमा जानका लागि रोक्ने कानुन संशोधनका लागि पहल गर्ने समेत बचन दिनुभएको छ । ‘ऐन नियम संशोधन गर्नका लागि अभियानसँग छलफल गरेर अगाडि बढ्न हामी तयार छौं । बाँझिएका ऐन कानुन संशोधनका लागि अभियानसँगै बसेर काम गर्दै समृद्ध मुलुक निर्माणमा सहकारी क्षेत्रको योगदान बृद्धि गराउनका लागि सहकार्य गर्न तयार छौं,’ उहाँले भन्नुभयो । उहाँले प्रत्येक घरमा सहकारीका सदस्य भन्ने अभियान लिएर गरिबी निवारणमा सहकारीको योगदान बृद्धि गर्न सकिने बताउनुभयो ।

उहाँले कोभिड–१९बाट सहकारी क्षेत्र पनि प्रभावित भएकाले यसलाई सुरक्षित बनाएर सेवा प्रदान गर्ने विषयमा अभियानसँग छलफल गरेर मार्ग पहिचान गर्ने बताउनुभयो । उहाँले सहकारीमा देखिएका केही विकृतिको निवारणका लागि अनलाइन सिस्टमबाट नियमन गर्ने विषयमा छलफल भइरहेको समेत जानकारी दिनुभयो । ‘समयमा नै सहकारी नियमनमा ध्यान दिइयो भने दुर्घटना हुन पाउँदैन । अब मान्छेले होइन सिस्टमले सहकारी अनुगमन गर्नुपर्छ’ उहाँले बताउनुभयो ।
महासंघका अध्यक्ष मिनराज कँडेलले सहकारी सरकारको परिपुरक भएर काम गर्ने क्षेत्र रहेको बताउनुभयो । उहाँले सहकारी ऐन÷ नियम संशोधन नभएका कारण कतिपय कुरामा अप्ठ्यारो परेकाले त्यसमा व्यवहारिक र नीतिगत निर्णय गर्नुपर्ने धारणा समेत राख्नुभयो । महासंघका निवर्तमान अध्यक्ष केशव बडालले सहकारी विना समाजवाद उन्मुख अर्थतन्त्र निर्माण सम्भव नभएको बताउनुभयो । ‘सहकारीको पुँजी उत्पादनमुलुक क्षेत्रमा लगानी गर्नका लागि ४७ वटाभन्दा बढी ऐन बाधक रहेकाले त्यसलाई तत्काल संशोधन गर्नुपर्छ । सचिवज्यूको प्राथमिकतामा सहकारी परेको खण्डमा सहकारीमा देखिएका अप्ठ्यारा सबै हल हुने विश्वास लिएको छु ।’ उहाँले भन्नुभयो । उहाँले संविधानको भावनालाई मन्त्रालयले बोकेको खण्डमा सहकारीलाई हेर्ने दृष्टिकोण परिवर्तन हुने बताउँदै भन्नुभयो,‘जहाँ जहाँ निजी क्षेत्र छ । त्यहाँ त्यहाँ सहकारीको पनि उपस्थिति हुनुपर्छ ।’
महासंघका वरिष्ठ उपाध्यक्ष तथा अन्तर्राष्ट्रिय सहकारी महासंघका ग्लोबल बोर्ड सदस्य ओमदेवी मल्लले स्वागत मन्तव्य राख्दै सचिवज्यूको कार्यकालमा सहकारी अभियान नयाँ चरणमा प्रवेश गर्ने वातावरण सिर्जना हुने अवसर पाउने विश्वास व्यक्त गर्नुभयो । उहाँले सहकारी कर्जा सूचना केन्द्र स्थापनाका लागि मन्त्रालयले कार्यविधि पास गरी बाटो खोलिदिनुपर्ने धारणा राख्नुभयो । उहाँले कोभिड–१९का कारण सहकारी क्षेत्र प्रभावित भएको समयमा ऐनले असोजसम्म लागु गर्नुपर्ने भनेर तोकेका कतिपय विषय कार्यान्वयन गर्न नसकिने अवस्था रहेकाले त्यसलाई केही समयका लागि सहज बनाइदिनुपर्ने माग समेत राख्नुभयो । उहाँले साधारणसभा कसरी गर्ने भन्ने विषयमा अन्यौल रहेकाले त्यस विषयमा समेत संवेदनशील हुनुपर्ने धारणा राख्नुभएको थियो । सो कार्यक्रममा सहकारी विभागको रजिष्ट्रार डा. टोकराज पाण्डेको समेत उपस्थिति रहेको थियो । साथै महासंघका संचालक तथा सुदुरपश्चिम प्रदेशका सांसद तारा लामा तामाङ, संचालक तथा नेपाल कृषि सहकारी केन्द्रीय संघका अध्यक्ष खेम बहादुर पाठक, संचालक तथा राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केवी उप्रेती, संचालकहरु टिका बुढाथोकी, डिवी बस्नेत, टेकप्रसाद चौलागाई, राजेन्द्र पौडेलको उपस्थिति रहेको थियो ।
कार्यक्रममा महासंघका महाप्रबन्धक चित्राकुमारी थाम्सुहाङ सुब्बाले नेपालको सहकारी अभियानको प्रवद्र्धनमा राष्ट्रिय सहकारी महासंघको भूमिकाको विषयमा प्रस्तुति गर्नुभएको थियो । उहाँले आ.व. २०७७÷०७८को नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनका लागि मन्त्रालय र महासंघले सहकार्य गरेर अगाडि बढ्नुपर्ने धारणा राख्नुभयो ।
कार्यक्रमको सहजीकरण महासंघका नायव महाप्रबन्धक बाबुल खनालले गर्नुभएको थियो ।

share this post: