News & Events

Image

जमिनको व्यवस्थापन गरेर मात्र कृषिमा परिवर्तनः मन्त्री अर्याल

भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री पद्मा अर्यालले कृषि उत्पादन बृद्धि गर्न र व्यवसायिकीकरण गर्नका लागि सहकारी महत्वपूर्ण संयन्त्र भएको बताउनु भएको छ ।
सो कुरा उहाँले राष्ट्रिय सहकारी महासंघद्वारा आयोजित सहकारीमार्फत उद्यमशीलता विकास राष्ट्रिय कार्यशाला गोष्ठीको २८ माघमा उद्घाटन गर्दा बताउनु भएको हो ।
जमिनको व्यवस्थित सुधार नगरी कृषिले फड्को मार्न नसक्ने किटानी गर्दै मन्त्री अर्यालले ठूलो स्केलमा उत्पादन गर्नका लागि सदस्यहरुको जमिन एकीकरण गरेर सहकारीले काम गर्न सक्ने बताउनुभयो ।
‘समाजवाद उन्मुख अर्थतन्त्र निर्माणका लागि धेरैभन्दा धेरै मानिसलाई उत्पादनमा जोड्नुपर्ने भएकाले सहकारीले सो कार्य गर्नुपर्ने आवश्यकता औल्याउँदै उहाँले सहकारी अब प्रवद्र्धनको चरणबाट व्यवसायिक चरणमा प्रवेश गरिसकेको बताउनुभयो ।
घरेलु तथा साना उद्योगको विकास र विस्तारमा सहकारी लाग्नुपर्ने उहाँले भन्नुभयो–‘हिजो हामी घरेलु उद्योगलाई हेला ग¥यौं । अब त्यसलाई नै उजागर गरेर धेरै मानिसलाई उद्यमी बनाउने रोजगारी सिर्जन ागर्ने कार्यलाई बढवा दिनुपर्छ । यसमा सरकार सकारात्मक छ ।’
सहकारी ऐन २०७४ संशोधनका लागि तयारी भएको भए पनि बचत तथा ऋणको कारोबार गर्ने संस्थाका लागि छुट्टै कानुन आवश्यकता महसुस गरिएपछि केही समय रोकिएको बताउँदै उहाँले छिट्टै ऐन संसोधनको विषय संसद्मा लगिने समेत बताउनुभयो ।
सोही अवसरमा पूर्वमन्त्री तथा सहकारी महासंघका निवर्तमान अध्यक्ष केशव बडालले सहकारी ऐन,२०७४ र सहकारीलाई उद्योग व्यवसायमा जानका लागि बाधा गरेका अन्य ४७ वटा ऐन संशोधन गर्नुपर्ने अवस्था रहेको औल्याउनुभयो ।
राष्ट्रिय सहकारी विकास बोर्डका सह अध्यक्ष दक्ष पौडेलले अहिलेको पुस्ता उद्यमी नबनी भावी पुस्ता उद्यमी बन्न नसक्ने बताउँदै समृद्ध मुलुक उद्यमशीलताको लागि सहकारीले जोड दिन थालेको बताउनुभयो ।
सहकारी विभागका रजिष्ट्रार डा टोकराज पाण्डेले नेतृत्वमा बसेकाले फराकिलो सोच राखेर अगाडि बढ्न सकेको खण्डमा सहकारी क्षेत्रले नमूना कार्य गर्न सक्ने बताउनुभयो ।
महासंघका अध्यक्ष मिनराज कँडेलले महासंघले सहकारी अभियानमार्फत उद्यमशीलता बृद्धि गरी सहकारीको योगदान बृद्धि गराउने उद्देश्यले कार्यक्रम आयोजना गरेको बताउनुभयो । ‘सहकारीमार्फत उद्योग संचालन गर्न के कस्ता कठिनाइ छन् । त्यसलाई कसरी समाधान गर्न सकिन्छ भने यहाँ निस्कर्ष निकालिदैछ ।’ उहाँले बताउनुभयो । महासंघका वरिष्ठ उपाध्यक्ष तथा आइसीए ग्लोबल बोर्ड सदस्य ओमदेवी मल्लले समृद्ध मुलुक निर्माणका लागि सहकारीमार्फत जनतालाई उद्यमी बनाउनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा युवा स्वरोजगार सिर्जनाः नविन प्रविधिको प्रयोग विषयक कार्यपत्र विश्वराज कार्कीले प्रस्तुत गर्नुभएको थियो साथै वित्तीय संघीयताका विश्लेषक डा खिमलाल देवकोटाले सहकारीमार्फत उद्यमशीलता विकासका लागि सरकारका विभिन्न निकायको भूमिको विषयमा प्रकाश पार्नु भएको थियो । वरिष्ठ राजयोग ध्यान प्रशिक्षक विजयराज शर्मा सिग्देलले व्यवसायिक सफलताको लागि तनाव व्यवस्थापन विषयक कार्यपत्र प्रस्तुत गर्नुभयो । माघ २९ गते महासंघका निवर्तमान अध्यक्ष केशव बडालले दीगो विकास लक्ष्य कार्यान्वयनमा सहकारीको भूमिका विषय कार्यपत्र प्रस्तुत गर्नुभयो ।
त्यसैगरी सहकारी विभागका रजिष्ट्रार डा टोकराज पाण्डेले सहकारीमा उद्यमशिलता विकास र संस्थागत सुशासन विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
सहकारी बचत तथा ऋणमा केन्द्रित हुनुमा शिक्षा, स्वास्थ्य, बीमा, हाइड्रोलगायतका क्षेत्रमा जानका लागि सहकारीलाई बाधा सिर्जना भएको गोष्ठीमा सहभागीहरुले कुरा उठाएका छन् । राज्यले सहकारीलाई अप्ठ्यारो परेका कानुनी अड्चन फुकाइदिएर उद्यमशीलता विकासमा प्रोत्साहन गरेको खण्डमा सहकारीले आयात प्रतिस्पर्धापन गर्ने र रोजगारी सिजर्ना गर्ने ७७ जिल्लाबाट भेला भएका सहकारीकर्मीले अठोट गरेका छन् । महासंघले सहकारीमार्फत उद्यमी बनाउनका लागि विगत केही बर्षदेखि नियमित रुपमा यस्ता कार्यक्रम गर्दै आइरहेको छ ।

share this post: