News & Events

Image

जनकपुरमा प्रदेश तथा स्थानीय तहको समृद्धिका लागि सहकारी विषयक प्रादेशिक गोष्ठी

राष्ट्रिय सहकारी महासंघ लि. नेपालको आयोजनामा प्रदेश नं. २ को लागि प्रदेश तथा स्थानीय तहको समृद्धिका लागि सहकारी विषयक प्रादेशिक गोष्ठी फागुन १९ गते सम्पन्न भएको छ । गोष्ठी १८ फागुनबाट शुरु भएको थियो । प्रदेश २ का लागि धनुषाको जनकपुरधाममा सो गोष्ठीको आयोजना गरिएको हो । गोष्ठीमा प्रदेश २ का सप्तरी, पर्सा, सर्लाही, बारा, सिराहा, धनुषा, रौटहट र महोत्तरी गरी ८ जिल्लाका स्थानीय तहका जनप्रतिनिधि, प्रशासकिय अधिकृत, प्रदेश सभा सदस्य तथा सहकारीकर्मीहरुको सहभागिता रहेको थियो ।
प्रदेश २का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद शाहले पानसमा दीप प्रज्वलित गरी गोष्ठीको उद्घाटन गर्नुभएको थियो । गोष्ठीको उद्घाटन महासंघका अध्यक्ष मिनराज कंडेलको अध्यक्षतामा सम्पन्न भएको हो । मन्त्री शाहले प्रदेश नं. २ उर्वर भूमि भएको र सहकारीमार्फत कृषि क्षेत्रलाई अगाडि बढाउने महत्वपूर्ण योजना रहेको धारणा राख्नुभयो । ‘मन्त्रालयले नीति तथा कार्यक्रममा सहकारीलाई प्राथमिकतामा राखेको र समृद्ध प्रदेश वनाउनका लागि देखिएका चुनौतीहरुलाई सहकारीसंगको समन्वयमा अवसरका रुपमा रुपान्तरण गरिने छ,’ उहाँले भन्नुभयो । उहाँले युवालाई कृषिमा आकर्षित गर्नुपर्ने भन्दै रोजगारी सिर्जना हुने क्षेत्रमा समेत सहकारीको भूमिका बृद्धि गर्न समेत आग्रह गर्नुभएको थियो । ‘त्यसका लागि सरकारले गर्नुपर्ने जस्तो सुकै सहयोग गर्न तयार छ,’ उहाँले भन्नुभयो ।
कार्यक्रममा महासंघका निवर्तमान अध्यक्ष केशव वडालले दिगो विकास लक्ष्यको कार्यान्वयनमा स्थानीय तह र सहकारीको भूमिका विषयमा कार्यपत्र प्रस्तुत गर्दै मेहनत गर्दा कुनै पनि कुरा असम्भव नहुने बताउनु भयो । साथै प्रत्येक पालिकाको श्रोत साधनको अध्ययन अनुसन्धान गरी सो को उपयोगका लागि सम्वन्धित सहकारीसंग समन्वय गर्नुपर्ने धारणा समेत राख्नुभयो ।
उहाँले प्रदेश २ मा सहकारीलाई प्रवद्र्धन गर्नुपर्ने अवस्था रहेको बताउँदै भन्नुभयो,‘सहकारी बाक्लो र सफल भएको प्रदेशमा बहुआयमीक गरिवीको ग्राफ तल रहेकाले प्रदेश २ को बहुआयामिक गरिवीलाई न्यूनिकरण गर्नका लागि सहकारीको महत्वपूर्ण भूमिका हुने छ ।’
दिगो विकासका १७ वटा लक्ष्यहरु प्राप्तिका लागि सहकारी र स्थानीय तह आपसमा मिलेर काम गर्नुपर्ने कुरामा जोड दिदै राष्ट्रि«य सहकारी महासंघले सहकारीमार्फत दिगो विकास लक्ष्य कार्यान्वयनका लागि मार्गदर्शन प्रकासित गरेको जानकारी गराउनुभयो ।
पूर्व स्वास्थ्य राज्यमन्त्री रामसिंह पासवानले प्रदेश तथा स्थानीय तहको समृद्धिका लागि सहकारीको भूमिका महत्वपूर्ण हुने विचार व्यक्त गर्नुभयो । यसै क्रममा शुभकामना मन्तव्य दिंदै प्रदेश नं. २ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव डा. गोविन्द प्रसाद शर्माले उर्वर भूमि रहेको यस प्रदेशलाई सहकारीमार्फत कृषिको रुपान्तरण गर्दै समृद्ध वनाउन सकिने धारणा राख्नुभयो ।
महासंघका अध्यक्ष मिनराज कंडेलले संघीय व्यवस्था अनुरुप सहकारी क्षेत्रको दर्ता, नियमन र प्रवद्र्धनमा प्रदेश र स्थानीय तहमा समेत अधिकार रहेको सन्दर्भमा सहकारी क्षेत्र र प्रदेश तथा स्थानीय सरकारवीच समन्वयका लागि गोष्ठीको आयोजना गरिएको वताउनुभयो । स्थानीय तहको समृद्धिका लागि स्थानीय स्रोत साधान प्रयोग गर्न र समुदायको उत्थान गर्नका लागि सहकारी मोडेलमार्फत अगाडि बढ्ने रणनीति तय गर्न सकेको खण्डमा महत्वपूर्ण उपलब्धी हुने उहाँले बताउनुभयो । कार्यक्रममा स्वागत मन्तव्य संचालक रामवावु यादवले गर्नुभएको थियो भने संचालन महाप्रवन्धक चित्रा कुमारी सुव्वाले गर्नुभएको थियो ।
सहकारीमार्फत उद्यमशीलता प्रवद्र्धनका लागि स्थानीय तथा प्रदेशको भूमिका विषयमा वित्तीय संघीयता तथा स्थानीय स्वशासन विज्ञ डा. खिमलाल देवकोटाबाट प्रस्तुतिकरण गर्नुभएको थियो । समृद्ध मुलुक निर्माणका लागि उद्यमशीलता विकासमा जोड दिनुपर्ने देवकोटाको भनाइ थियो । नेपालको हालको आर्थिक बृद्धिदर ६.८ रहेको र यसलाई १० .५ प्रतिशतमा पु¥याउने लक्ष्य रहेको छ । त्यसैगरि प्रतिव्यक्ति आय १०४७ डलर रहेकोमा यसलाई १२ हजार १ सय डलर पु¥याउने लक्ष्य रहेको र निरपेक्ष गरिवीलाई शुन्यमा झार्ने लक्ष्य हालि गर्न उद्यमशिलता विकासका लागि सबै स्थानीय तहले योगदान गर्नुपर्ने देवकोटाले बताउनुभयो ।
नेपालमा हाल बेरोजगारी दर ११.४ प्रतिशत रहेकाले त्यसलाई ३ प्रतिशतमा झार्ने लक्ष्य रहेको छ । ‘संसरभरि कुल रोजगारीमा सहकारीको योगदान १० प्रतिशत छ । ६ जना मानिसमध्ये एक जना सहकारीमा आवद्ध रहेका छन् । नर्वे, क्यानडा, होण्डरसमा त तीन जनामा एक जना सहकारीमा आवद्ध छन् । त्यसैले देशको समृद्धिका लागि सहकारी मोडेल महत्वपूर्ण छ,’ उहाँले बताउनुभयो । विश्वमा करीव एक अर्ब मानिस सहकारीमा संगठित रहेको अन्तर्राष्ट्रिय सहकारी महासंघले जनाएको छ ।
देवकोटाले हरेक स्थानीय तहका वडामा सहकारी सुपथ पसलहरु खोल्न अभिप्रेरित गर्ने, स्थानीय प्राकृतिक साधन र स्रोतको संरक्षण तथा उपयोगमा सहकारीलाई संलग्न गराउने, रोजगारी सिर्जना गरी गरिवी निवारण लगायतका उत्कृष्ट कार्य गर्न सहकारीलाई पुरस्कृत गर्नु व्यवस्था गर्नुपर्ने बताउनुभयो । उहाँले तीनै तहका सरकारले सहकारीलाई केन्द्रविन्दुमा राख्नुपर्ने धारणा राख्दै आफ्नो प्रस्तुति अन्त्य गर्नुभएको थियो । कार्यशत्रको अध्यक्षता महासंघका उपाध्यक्ष रमेश प्रसाद पोखरेलले गर्नुभएको थियोे ।
उपाध्यक्ष पोखरेलले राजनीतिक स्थायित्व र सहज वातावरण भएकोले अब सहकारी मैत्री कानुन र नीतिहरुमा फोकस गर्दै उद्यमशीलता विकासमा जोड दिनुपर्ने धारणा राख्नुभएको थियो ।
प्रदेश २ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव डा गोविन्द्रप्रसाद शर्माले सार्वजनिक निजी र सहकारी क्षेत्रको सहकार्य, अवसर र चुनौती विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । उहाँले सो अवसरमा तीन क्षेत्र मिलेर नेपालको अर्थतन्त्रलाई बलियो बनाउनुपर्ने धारणा राख्नुभएको थियो ।
यसै गरी वरिष्ठ राजयोग ध्यान प्रशिक्षक विजयराज शर्मा सिग्देलबाट अत्यन्त रोचक शैलीमा समृद्धिका लागि सकारात्मक सोचको विकास विषयमा प्रस्तुती भएको थियो । प्रदेशका विभिन्न पालिकाका प्रमुख, उपप्रमुख तथा प्रशासकीय अधिकृत र अगुवा सहकारीकर्मीहरु गरी जम्मा १३१ जनाको सहभागिता रहेको थियो ।

share this post: