News & Events

Image

‘अब त मज्जाले आफै खेती गर्न सक्छौं’

कोभिड १९को महामारीकै समयमा आर्थिक रुपमा कमजोर भइरहेको समयमा बगरमा तरकारी खेती गर्ने, मल तथा विषाधी हाल्ने तरिका सिकेर आधुनिक रुपमा खेती गर्ने सिप सिकाएकोमा भिम थापा उत्साहित हुनुहुन्छ । बगर भनेर हेला गरिएको स्थानबाट पनि राम्रो आम्दानी गर्न सकिने भएपछि दाङ, बाँके, सुर्खेत र कैलालीका कोभिड १९ प्रभावित किसान, युवा, गरिव तथा महिला उत्साहित देखिन्छन् ।

‘अब त मज्जाले आफै खेती गरेर सफलता हासिल गर्न सकिदो रहेछ भन्ने आँट बढेकोछ’ थापा भन्नुहुन्छ । महासंघ र जिआइजेड एलपिईडी परियोजनाले जिल्ला सहकारी संघहरुको समन्वयनमा कोभिड १९ को महामारीका कारण रोजगारी गुमाएका, गरिव, किसान, युवा तथा महिलाहरुलाई लक्षित गरि संचालन गरिएको कृषि उद्यम विकास कार्यक्रमको समापनमा भर्चुअल रुपमा उपस्थिति किसान तथा जिल्ला सहकारी संघका प्रतिनिधिहरुको उत्साह देखेर महासंघ तथा जिआइजेडका पदाधिकारी तथा प्रतिनिधि उत्साहित देखिन्थे । ज्ञानु भुसालले किसानको मनोबल उच्च भएको महसुस गरेको बताउनुभयो । महासंघका अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, महाप्रबन्धक नै फिल्ड भिजिट गरेर किसानहरुलाई मल विउ वितरण गरेर उत्साहित समेत बनाउने काम भएको थियो । बाँझो जमीनमा कृषि उत्पादन गरी रोजगारी सिर्जना गर्न सकिएला र भन्नेहरु अहिले उत्साहित भएको देख्दा आनन्द लागेको महासंघका अध्यक्ष मिनराज कडेलले समापनमा बताउनुभयो ।

जयपृथ्वी कृषि सहकारी संस्थाका अध्यक्ष लोकेन चन्दले भारतमा दैनिक ज्याला गर्न जानुपर्ने किसान तथा भुमि हिनलाई यो कार्यक्रम रुपान्तरण गर्ने खालको भएको प्रतिक्रिया दिनुभएको छ । बाँके जिल्ला सहकारी संघका अध्यक्ष प्रेम सुवेदीको अनुभव पनि चन्दको जस्तै छ । ‘मधेसी, मुश्लिम तथा पिछडिएको समुदायलाई लक्षित गरी गरिएको यो कार्यक्रम सफल भएको छ । उहाँहरुले गरेको उत्पादनलाई खरिदको ग्यारेन्टी गरी बजारीकरण गर्ने विषयमा संघले पहल गरेको छ,’ उहाँले भन्नुभयो । उहाँहरुले उत्पादन निस्कने समयसम्म कार्यक्रमले निरन्तरताको अपेक्षा समेत राख्नुभएको थियो । १६ सय बढी कोभिड प्रभावितहरुले यस कार्यक्रमबाट लाभ लिएका छन् । जिल्ला सहकारी संघ कैलालीले परम्परागत खेतीभन्दा भिन्न रुपमा खेती गर्दा हुने रहेछ भनेर छिमेकी किसानले पनि पाठ सिकेको भन्दै यसको बजारीकरणका लागि संकलन केन्द्र बनाउने योजना सुनायो ।

राष्ट्रिय सहकारी महासंघसँग सम्झौता भई संचालन भएको जिआइजेड एलपिइडी २ बर्षे कार्यक्रम समापन भए पनि अन्य विभिन्न कार्यक्रममार्फत जिआइजेडसँग निरन्तर सहकार्य हुने आशा महासंघका अध्यक्ष कडेलले व्यक्त गर्नुभएको छ । २०७७ पुस ८ गते महासंघमा भौतिक तथा भर्चुअल रुपमा भएको समापन कार्यक्रममा जिआइजेडकी चिफ टेक्निकल सल्लाहकार मागाली मन्डेर आफै उपस्थिति हुनुहुन्थ्यो । उहाँले महासंघमार्फत लक्षित समुदायमा काम गर्दा दिगो हुने धारणा राख्दै अब जलबायु परिवर्तन र कृषिका क्षेत्रमा आउने अन्य परियोजनामा सहकार्य हुने अपेक्षा राख्नुभयो ।

कार्यक्रमले बाटो देखाएकोले अब आत्मनिर्भर बन्नका लागि आफै सक्रिय हुनुपर्नेमा महासंघका निवर्तमान अध्यक्ष केशव बडालको जोड थियो । महासंघका वरिष्ठ उपाध्यक्ष ओमदेवी मल्लले किसान, युवा, महिला, कोभिड १९का कारण बेरोजगार भएका प्रभावितहरुलाई लक्षित गरीएको कार्यक्रमले महत्वपूर्ण उपलब्धी हासिल गरेको बताउँदै खुसी व्यक्त गनुभयो । महासंघका लेखा तथा सुपरिवेक्षण समितिका संयोजक धर्मदत्त देवकोटाले कार्यक्रमले स्वरोजगार सिर्जना र गरिवी निवारणमा भूमिका खेलेको बताउनुभयो । महासंघका महाप्रबन्धक चित्राकुमारी थाम्सुहाङ सुब्बाले राम्रो समन्वय गरी काम सम्पन्न भएको र नीति निर्माण तहदेखि संस्थागत विकासको क्षेत्रमा सहकार्य गरेर नेपालको सहकारी अभियानको सुदृढीकरणमा कार्य भएको स्मरण गर्नुभयो । कार्यक्रममा महासंघका नायव महाप्रबन्धक बाबुल खनालले २ बर्षे अवधिको गतिविधि प्रस्तुत गर्नुभयो । कार्यक्रम अधिकृत अमित अधिकारीले कार्यक्रम संचालन गर्नुभएको थियो । कार्यक्रममा जिआइजेडमार्फत महासंघका विकास सल्लाहकारका रुपमा काम गर्नुभएकी निनालाई समेत धन्यवाद दिइएको थियो । उहाँको २ बर्षे कार्यकाल समेत समाप्त भएको छ ।

share this post: